मधेश प्रदेशमा एक वर्षमै ८२१ उद्योग बन्द
काठमाडौँ — आर्थिक मन्दी, तरलता अभाव तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानीमा कमी आउँदा मधेश प्रदेशमा उद्योग व्यवसाय बन्द हुने क्रम बढेको छ।
मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२–८३ मा प्रदेशमा १ हजार ९३८ उद्योग तथा व्यवसायको लगत कट्टा भएको छ । तीमध्ये ८२१ उद्योग र १ हजार ११७ वाणिज्यतर्फका फर्म तथा व्यवसाय रहेका छन् ।
तर, सोही अवधिमा प्रदेशमा ५ हजार ६८ नयाँ उद्योग दर्ता भएका छन् । मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोका अनुसार सबैभन्दा धेरै नयाँ उद्योग पर्सामा दर्ता भएका छन् ।
जिल्लागत रूपमा पर्सामा १ हजार १०१, धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ नयाँ उद्योग दर्ता भएका छन् ।
त्यस्तै, आर्थिक वर्ष २०८२÷८३ मा प्रदेशमा ७ हजार ५४० उद्योग नवीकरण भएका छन् ।
वाणिज्यतर्फ ६ हजार १२२ वटा प्राइभेट फर्म र १८ वटा साझेदारी फर्म नयाँ दर्ता भएका छन् भने ११ हजार १४४ वाणिज्य फर्म नवीकरण भएका छन् ।
नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायत शीर्षकबाट प्रदेश सरकारले गत आर्थिक वर्षमा ५ करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व संकलन गरेको मन्त्रालयले जनाएको छ ।
सूचना अधिकारी महतोका अनुसार विश्वव्यापी आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानीमा कमी, पूँजी अभाव तथा स्थानीय तहबाट समेत उद्योग दर्ता गर्ने क्रम बढेकाले प्रदेशमा उद्योगको लगत कट्टा हुने संख्या बढेको हो ।
उनका अनुसार कतिपय व्यवसायीले प्रदेश सरकारअन्तर्गत उद्योग दर्ता नगरी स्थानीय तहमै व्यवसाय दर्ता गर्न थालेकाले पनि प्रदेशको अभिलेखमा बन्द भएका उद्योग तथा व्यवसायको संख्या बढेको देखिएको छ ।