ललितपुरमा श्री कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन – Nepalboli

ललितपुरमा श्री कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन

   २०८३ भाद्र ८, सोमबार  

ललितपुर—ललितपुरमा पुनःस्थापित सांस्कृतिक सम्पदा श्री कुमारी छेँ र नयाँ कुमारी निवासको सोमबार संयुक्त रूपमा उद्घाटन गरिएको छ ।

भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगमा पुनर्निर्माण गरिएको उक्त सम्पदाको उद्घाटन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, प्रतिनिधिसभा सदस्य जगदीश खरेल र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रूपमा गरेका हुन् ।

उद्घाटन कार्यक्रममा विशिष्ट व्यक्तिहरूले उद्घाटन पट्टिकाको अनावरण गर्नुका साथै परम्परागत समारोहमा सहभागिता जनाएका थिए । कार्यक्रममा नेपाल सरकार, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास)का अधिकारी, स्थानीय समुदायका प्रतिनिधि तथा काठमाडौंस्थित भारतीय राजदूतावासका अधिकारीहरूको सहभागिता थियो ।

भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत करिब ५ करोड रुपैयाँ लागतमा श्री कुमारी छेँ र नयाँ कुमारी निवासको पुनर्निर्माण गरिएको हो । परियोजना केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ९भवन तथा आवास०मार्फत कार्यान्वयन गरिएको थियो । यसको डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा इन्डियन नेसनल ट्रस्ट फर आर्ट एन्ड कल्चरल हेरिटेजले उपलब्ध गराएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य जगदीश खरेलले स्थानीय बासिन्दाको योगदानको प्रशंसा गर्दै जीवित सम्पदा स्थलहरूको संरक्षणको महत्वमा जोड दिए । उनले सम्पदा पुनर्स्थापनाका लागि भारत सरकारले उपलब्ध गराएको सहयोगको पनि प्रशंसा गरे ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरसहित विभिन्न जिल्लाका सांस्कृतिक सम्पदाको पुनर्निर्माण तथा पुनर्स्थापनामा भारत सरकारले पुर्‍याएको योगदानको प्रशंसा गरे । उनले सम्पदा संरक्षणमा स्थानीय समुदायले गरेको सहयोग र सहकार्यका लागि धन्यवाद व्यक्त गरे ।

भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीचको गहिरो सांस्कृतिक सम्बन्धलाई उजागर गर्दै नेपालको ऐतिहासिक सम्पदाको संरक्षण तथा पुनर्स्थापनामा भारतको निरन्तर सहयोग रहने बताए ।

उनले पुनर्निर्माण गरिएका संरचनाहरू नेपाल–भारतबीचको साझा सांस्कृतिक सम्पदा र मित्रताको चिरस्थायी प्रतीक बन्ने विश्वास व्यक्त गरे ।

भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत नेपालका ५ जिल्लाका ३० वटा सांस्कृतिक सम्पदा स्थलको संरक्षणमा सहयोग गरेको जनाएको छ । त्यस्तै, गोरखा र नुवाकोटमा ५० हजार निजी आवास, ५ जिल्लाका ५४ वटा शैक्षिक संस्था तथा ११ जिल्लाका १३३ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणमा समेत भारतले सहयोग गरेको जनाएको छ ।

भारतीय राजदूतावासका अनुसार भारतको सहयोगमा सञ्चालित यी परियोजनाले नेपालको भूकम्पपछिको पुनर्निर्माण प्रयासलाई थप बल पुर्‍याउनुका साथै नेपाल–भारतबीचको प्रगाढ विकास साझेदारीलाई समेत प्रतिबिम्बित गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै