सिराहामा करेन्टको कहर: धानमा सिँचाइ गर्न मोटर चलाउँदा एकै दिन तीनजनाको मृत्यु – Nepalboli

सिराहामा करेन्टको कहर: धानमा सिँचाइ गर्न मोटर चलाउँदा एकै दिन तीनजनाको मृत्यु

   २०८३ भाद्र ८, सोमबार  

सिराहा— धानखेतमा सिँचाइका लागि विद्युतीय मोटर प्रयोग गर्ने क्रममा करेन्ट लागेर सिराहामा आइतबार एकै दिन तीनजनाको मृत्यु भएको छ । नवराजपुर र लक्ष्मीपुरपतारी गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा तीन किसानको ज्यान गएको हो ।

करेन्ट लागेर मृत्यु हुनेमा नवराजपुर गाउँपालिका–४ सुन्दरपुरका २८ वर्षीय पशुपति शर्मा तथा लक्ष्मीपुरपतारी गाउँपालिका–५ खरुकियाहीका ५५ वर्षीय पुलकित मण्डल र ४५ वर्षीय मोहम्मद इसा अन्सारी रहेका छन् ।

प्रहरीका अनुसार शर्मा आइतबार बिहान धानमा पानी लगाउन खेतमा जडान गरिएको विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई नवराजपुर आधारभूत अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, मण्डल धानखेती हेर्न खेतमा पुगेका बेला विद्युतीय मोटरमा जोडिएको तारमा अल्झिएपछि करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको लक्ष्मीपुरपतारी–५ का वडाध्यक्ष ब्रह्मदेव यादवले बताए ।

अन्सारी भने धानखेतमा पानी लगाउन मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महेशपुर पतारले जनाएको छ ।

महेशपुर पतारका प्रहरी निरीक्षक विशाल मल्लका अनुसार तीनैजनाको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार–शारदा–उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पठाइएको छ ।

सिराहामा करेन्टसम्बन्धी दुर्घटना गम्भीर बन्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा करेन्ट लागेका १२६ वटा घटना भएका छन् ।ती घटनामा ५० जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै