हुम्लाका सात गाउँपालिकाको बेरुजु १ अर्ब २७ करोड नाघ्यो, सर्केगार्ड सबैभन्दा बढी
हुम्ला— हुम्ला जिल्लाका सातवटै गाउँपालिकाको कुल बेरुजु १ अर्ब २७ करोड ९२ लाख ३९ हजार रुपैयाँ पुगेको छ । वर्षेनी बेरुजु बढ्दै जानु, असुल गर्नुपर्ने रकम उठाउन नसक्नु र सम्परीक्षणमा बेवास्ता हुँदा आर्थिक अनियमितताको आकार झन् बढ्दै गएको देखिएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनमा आर्थिक वर्ष २०८१÷८२ मा मात्रै १२ करोड १४ लाख ७३ हजार ७०६ रुपैयाँ नयाँ बेरुजु थपिएको उल्लेख छ ।
सबैभन्दा बढी बेरुजु सर्केगार्ड गाउँपालिकामा ३६ करोड ४० लाख ३२ हजार रुपैयाँ रहेको छ । त्यसपछि चङ्खेलीमा २८ करोड ८ लाख, ताँजाकोटमा २० करोड ९० लाख, अदानचुलीमा २० करोड ४८ लाख, सिमकोटमा ८ करोड १६ लाख, खार्पुनाथमा ७ करोड ७६ लाख र सबैभन्दा कम नाम्खामा ६ करोड १० लाख रुपैयाँ बेरुजु रहेको छ ।
महालेखाको विवरणअनुसार चालु आवमा सबैभन्दा बढी नयाँ बेरुजु चङ्खेली गाउँपालिकामा ४ करोड ३९ लाख रुपैयाँ थपिएको छ भने अदानचुलीमा ३ करोड ३५ लाख र सर्केगार्डमा १ करोड ७१ लाख रुपैयाँ थपिएको छ ।