आज देशभर बदली र वर्षा, चार प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने चेतावनी
काठमाडौं— देशभर मनसुन सक्रिय रहेकाले आज दिनभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभावसँगै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी र सुदूरपश्चिमका तराई, मधेस प्रदेश तथा कोशी र लुम्बिनीका तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
आज राति पनि देशभर बदली कायम रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान छ । कोशी र बागमतीका पहाडी तथा तराई क्षेत्र र गण्डकीका पहाडी भागका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने जनाएको छ । यसले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा असर पार्न सक्ने भएकाले स्थानीयवासी तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।