काठमाडौंको बाँसबारीमा साढे दुईतले घर भासियो, आसपासका घर जोखिममा
काठमाडौं— काठमाडौंको बाँसबारीमा बिहीबार साँझ साढे दुईतले एक घर अचानक भासिएको छ । काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारीमा रहेको उक्त घर साँझ करिब ८ बजे भासिएको हो ।
घर भासिने क्रममा मानिसको उपस्थिति नरहेकाले मानवीय क्षति हुनबाट जोगिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । उक्त घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालनमा रहेको थियो ।
महानगरका अनुसार लगातारको वर्षाका कारण जमिन कमजोर हुँदा घर भासिएको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रहरी वृत्त महाराजगञ्जका अनुसार घर भासिएको क्षेत्र आसपासका अन्य घरसमेत जोखिममा रहेका छन् । त्यस क्षेत्रमा थप क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीयलाई सचेत रहन आग्रह गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि सम्बन्धित निकायले जोखिमको अवस्थाबारे निरीक्षण तथा आवश्यक व्यवस्थापनको काम अघि बढाएको छ ।