कांग्रेस विवाद चर्किरहेका बेला महामन्त्री पौडेलको आह्वान: ‘सानेपामा आएर संवाद गरौं’ – Nepalboli

कांग्रेस विवाद चर्किरहेका बेला महामन्त्री पौडेलको आह्वान: ‘सानेपामा आएर संवाद गरौं’

   २०८३ भाद्र ५, शुक्रबार  

काठमाडौं— नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि महामन्त्री प्रदीप पौडेलले असन्तुष्ट पक्षलाई पार्टी कार्यालय सानेपामा आएर संवाद गर्न आग्रह गरेका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै पौडेलले पार्टीभित्रका मतभेदलाई सडक वा अदालतमा लैजानुभन्दा राजनीतिक संवादमार्फत समाधान खोज्नुपर्ने बताएका हुन् । मुलुक चुनौतीपूर्ण अवस्थामा रहेका बेला कांग्रेस आफैं कमजोर र विभाजित भए देश गम्भीर राजनीतिक विग्रहमा फस्न सक्ने उनको चेतावनी छ ।

पौडेलले कांग्रेसको आन्तरिक विवाद अदालतबाट निरूपण हुने विषय नभएको स्पष्ट गर्दै राजनीतिक समस्याको समाधान राजनीतिक संवादबाटै खोजिनुपर्ने बताएका छन् ।

‘हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन,’ पौडेलले भनेका छन्, ‘नेपाली कांग्रेसको विवाद अदालतले निरूपण गर्ने विषय होइन र हुनुहुँदैन । राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ ।’

उनले असन्तुष्ट नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई फरक मतसहित पार्टीको ‘साझा मन्दिर’ सानेपा आउन आग्रह गरेका छन् ।

पौडेलले विगतका कमजोरीमा सबै पक्षको सामूहिक जिम्मेवारी रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गरेर पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउनुपर्ने बताएका छन् ।

उनका अनुसार आसन्न १५औं महाधिवेशन निर्धारित समयमै सम्पन्न गरी कार्यकर्ताले सुम्पिएको नेतृत्वलाई स्वीकार गर्नुपर्ने आवश्यकता छ ।

‘सानेपामा बसेर मनैदेखि संवाद गरौं । विगतका कमजोरीहरूमा हामी सबैको सामूहिक जिम्मेवारी छ, त्यसलाई पनि आत्मसात् गर्दै अघि बढौं,’ उनले भनेका छन्, ‘आगामी १५औं महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गरी आम कार्यकर्ताले सुम्पिने नेतृत्वलाई स्वीकार गरौं र लोकतन्त्रलाई थप सुदृढ बनाउने बाटोमा एकजुट भएर लागौं ।’

पार्टीभित्रको विभाजनले कांग्रेस मात्रै नभई लोकतन्त्र र मुलुकलाई समेत कमजोर बनाउने पौडेलको निष्कर्ष छ । समयमै कमजोरी सच्याउन नसके त्यसको मूल्य पार्टीले इतिहासमा चुकाउनुपर्ने चेतावनीसमेत उनले दिएका छन् ।

‘यस्तो बेला हामी विभिन्न बहानामा विभाजित हुनु भनेको लोकतन्त्र र देशलाई नै कमजोर बनाउनु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘समयमै गल्ती सच्याएनौं भने इतिहासले हामीलाई क्षमा दिने छैन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै