जाजरकोटमा बोलेरो दुर्घटना एक जनाको मृत्यु, ६ घाइते – Nepalboli

जाजरकोटमा बोलेरो दुर्घटना एक जनाको मृत्यु, ६ घाइते

   २०८३ भाद्र ५, शुक्रबार  

जाजरकोट— जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा बोलेरो जिप सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

डोल्पा–जाजरकोट सडकखण्डअन्तर्गत ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप भदौ ४ गते साँझ करिब ६ः३० बजे अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा नलगाड नगरपालिका–१० का २५ वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँका २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन् ।

प्रहरीका अनुसार जिप चालक नलगाड नगरपालिका–८ हलचौरका २४ वर्षीय विनोद विक भनिने विनबहादुर विक दुर्घटनापछि फरार भएका थिए । प्रहरीले खोजतलासका क्रममा उनलाई सोही राति नियन्त्रणमा लिएको जनाएको छ ।

दुर्घटनामा परेको जिप घटनास्थलमै रहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै