गाईघाटका वन अधिकृत घुससहित रंगेहात पक्राउ
उदयपुर— डिभिजन वन कार्यालय गाईघाटका वन अधिकृत तथा सूचना अधिकारी भूवन पौडेल घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई १६ हजार २५० रुपैयाँ नगदसहित बिहीबार कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार पौडेलले सामुदायिक वन उपभोक्ता समूहको काम सहज रूपमा गराइदिने भन्दै रकम मागेका थिए । विशेष सूचनाका आधारमा निगरानी गरेको टोलीले रकम बुझ्दै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती ले पनि अख्तियारले वन अधिकृत पौडेललाई नगदसहित पक्राउ गरेको जानकारी प्राप्त भएको पुष्टि गरेका छन् ।
घटनाबारे थप प्रमाण संकलन तथा अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ। रकम दिने सामुदायिक वन उपभोक्ता समूहको परिचय भने हाल सार्वजनिक गरिएको छैन ।