प्रधानमन्त्री शाह र मन्त्रीबीच कार्यसम्पादन सम्झौता, सुशासनदेखि समृद्धिसम्म लक्ष्य तय – Nepalboli

प्रधानमन्त्री शाह र मन्त्रीबीच कार्यसम्पादन सम्झौता, सुशासनदेखि समृद्धिसम्म लक्ष्य तय

   २०८३ भाद्र ३, बुधबार  

काठमाडौं— चालु आर्थिक वर्षका प्रमुख लक्ष्य र नतिजामूलक कामलाई आधार बनाएर प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्रीहरूले प्रधानमन्त्रीसँग सम्झौतापत्रमा हस्ताक्षर गर्दै प्रति आदान–प्रदान गरेका हुन् । सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित मन्त्रालयगत प्राथमिकता तथा कार्यसम्पादन सूचक समेटिएका छन् ।

प्रधानमन्त्री शाहले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

यस्तै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले पनि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल अस्वस्थ रहेका कारण तथा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव संसद्को बैठकमा सहभागी हुनुपरेकाले कार्यक्रममा उपस्थित हुन सकेनन् ।

यसै अवसरमा नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्की ले पनि प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै