जंगलमा गोली लागेर युवक मृत फेला, घटनास्थलमै भरुवा बन्दुक बरामद
कैलाली —कैलालीको बर्दगोरिया गाउँपालिकामा जंगलभित्र छातीमा गोली लागेको अवस्थामा एक युवक मृत फेला परेका छन् । घटनास्थलबाट भरुवा बन्दुकसमेत बरामद भएपछि प्रहरीले मृत्युको कारणबारे विस्तृत अनुसन्धान सुरु गरेको छ ।
मृतक बर्दगोरिया गाउँपालिका–३, बौनियाका अन्दाजी ४५ वर्षीय पदम विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । उनी मंगलबार साँझ करिब ८ः३० बजे स्थानीय लालीगुँरास सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय सडकपुर–बौनियाका अनुसार विश्वकर्माको देब्रे छातीतर्फ गोली लागेको जस्तो देखिने घाउ भेटिएको छ । घटनास्थलमै रहेको भरुवा बन्दुक प्रहरीले बरामद गरी परीक्षणका लागि नियन्त्रणमा लिएको छ।
स्थानीय वडाध्यक्ष मनऋषी आचार्यका अनुसार विश्वकर्मा सिकार खेल्न जंगल गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । यद्यपि, घटना दुर्घटना, आत्महत्या वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि बौनियास्थित दोधारा अस्पतालमा राखिएको छ । प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षबाट अनुसन्धान अघि बढाएको जनाएको छ ।