ग्यास अभावमा सरकारको हस्तक्षेप काठमाडौंका ५ केन्द्रबाट सिधै एलपीजी वितरण
काठमाडौं — बजारमा खाना पकाउने ग्यासको अभाव चुलिँदै गएपछि सरकारले काठमाडौं उपत्यकामा पाँच स्थानबाट उपभोक्तालाई सिधै एलपीजी सिलिन्डर वितरण गर्ने निर्णय गरेको छ । प्रारम्भिक रूपमा दुई दिन परीक्षणका रूपमा सञ्चालन हुने यो व्यवस्था सफल भए उपत्यकाका थप स्थानमा विस्तार गरिने भएको छ ।
नेपाल आयल निगमका अनुसार टेकु, यातायात कार्यालय चाबहिल, राधास्वामी कीर्तिपुर, राधास्वामी बसुन्धारा र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट करिब एक दर्जन कम्पनीका ग्यास सिलिन्डर वितरण गरिनेछ । ग्यास लिन उपभोक्ताले नागरिकता वा परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ ।
शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल आयल निगम र ग्यास उद्योग संघले संयुक्त पत्रकार सम्मेलन गर्दै यो विशेष वितरण प्रणालीको घोषणा गरेका हुन् । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले वास्तविक आवश्यकता भएका उपभोक्तालाई लक्षित गरेर उद्योगी, डिलर, निगम र प्रहरीको रोहबरमा ग्यास वितरण गरिने बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीले पछिल्ला चार महिनामा लक्ष्यअनुसार आयात हुन नसक्दा बजारमा माग र आपूर्तिबीच खाडल सिर्जना भएको स्वीकार गर्दै अब आयात बढाइएकाले अभाव छिट्टै हट्ने दाबी गरे । उनका अनुसार सरकारले बजार अनुगमन तीव्र पार्दै अनावश्यक रूपमा सिलिन्डर मौज्दात गर्नेहरूलाई नियन्त्रण गर्न ‘मार्केट इन्टेलिजेन्स’ समेत प्रयोग गरिरहेको छ ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार साउन १ देखि २९ गतेसम्म २,७८१ ग्यास बुलेट नेपाल भित्रिएका छन् । दैनिक औसत १ लाख १० हजार सिलिन्डर खपत हुने बजारमा पछिल्ला दिनहरूमा माग बढेपछि वितरण व्यवस्थापन चुनौतीपूर्ण बनेको उनले बताए ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले भारतबाट ग्यास आपूर्तिमा कुनै अवरोध नरहेको स्पष्ट पार्दै ढुवानी दूरी र सीमित बुलेटका कारण केही ढिलाइ भएको बताए। असारसम्म आधा सिलिन्डर वितरण भएपछि अहिले पुनः १४।२ केजीका पूर्ण सिलिन्डर दिन थालिएकाले एकैपटक माग बढेको उनको भनाइ छ ।
निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय नगर्न आग्रह गर्दै विद्यार्थी, कोठा भाडामा बस्ने र तत्काल ग्यास आवश्यक परेका परिवारलाई प्राथमिकता दिएर वितरण गरिने जनाएको छ ।