जाजरकोटमा बाढीको ताण्डव घर र झोलुङ्गे पुल बगायो
जाजरकोट — अविरल वर्षासँगै आएको भीषण बाढीले जाजरकोटको नलगाड नगरपालिकामा ठुलो भौतिक क्षति पुर्याएको छ । बाढीका कारण राष्ट्रिय प्राथमिकताप्राप्त भेरी करिडोरअन्तर्गतको जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय रग्दाका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण नलगाड नगरपालिका–१० स्थित तासुघाट खोलामा बहाव अनियन्त्रित भई सडक सञ्जाल कटेको हो ।बाढीले सोही वडाको रोलीस्थित झोलुङ्गे पुलको पश्चिमतर्फको भाग बगाउनुका साथै स्थानीय ढुङ्गा–माटो र टिनले छाएका चारवटा घर पूर्ण रूपमा नष्ट पारेको प्रहरीले जनाएको छ । भौतिक संरचनामा क्षति पुगे पनि समयमै सतर्कता अपनाउँदा कुनै मानवीय क्षति भने हुन नपाएको प्रहरीको भनाइ छ । घटनाको खबर प्राप्त हुनासाथ उद्धार तथा क्षति मूल्याङ्कनका लागि इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमाण्डमा ४ जनाको सुरक्षा टोली घटनास्थलमा खटिसकेको छ ।