रोल्पा पहिरोमा तीन जनाको मृत्यु, नौ जना अझै बेपत्ता
रोल्पा— लगातारको वर्षापछि गएको पहिरोले रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा पुरिएर बेपत्ता भएका १० जनामध्ये ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेसँगै घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गएराति अविरल वर्षाका कारण आएको पहिरोले घर तथा बस्ती प्रभावित बनाएको हो । घटनापछि बेपत्ताको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ ।
पहिरोमा परी जुनकुमारी पुन मगर (४०), अशिम पुन मगर (९०), अशोक पुन मगर (६०), डलबहादुर पुन मगर (७५), अजम्बर पुन मगर (८०), बलबहादुर पुन मगर (७८), लिलबहादुर पुन मगर (७२), मनि पुन मगर (७१) र हस्तकला रोका मगर (६७) अझै बेपत्ता छन् ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको टोली पुगेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहभागितामा बेपत्ताहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
लगातार वर्षा भइरहेकाले घटनास्थलमा थप पहिरोको जोखिमसमेत रहेको भन्दै उद्धार तथा खोजी कार्यमा सावधानी अपनाइएको छ ।