रौतहटमा नदीमा डुबेका तीन बालबालिकामध्ये दुईको शव भेटियो, एक अझै बेपत्ता – Nepalboli

रौतहटमा नदीमा डुबेका तीन बालबालिकामध्ये दुईको शव भेटियो, एक अझै बेपत्ता

   २०८३ श्रावण २७, बुधबार  

रौतहट — रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ भने एक बालिका अझै बेपत्ता छन् ।

देवाहीगोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहम्मद रहमतुल्लाह र १० वर्षीया सवनम खातुनको शव प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनीहरू मंगलबार दिउँसो लालबकैया नदीमा नुहाउन गएका बेला डुबेर बेपत्ता भएका थिए। सोही क्रममा बेपत्ता भएकी १० वर्षीया रौशन खातुनको भने अहिलेसम्म अवस्था पत्ता लागेको छैन ।

प्रहरीका अनुसार रौशनको खोजीका लागि संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय देवाहीगोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा सात जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १४ जनासहितको टोलीले नदीमा खोजी गरिरहेको छ ।

बालबालिका नदीमा डुबेको सूचना प्राप्त भएलगत्तै स्थानीय सुरक्षा निकाय उद्धार तथा खोजीमा जुटेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै