खाजा घरमा १२५ पुरिया गाँजा, सञ्चालक पक्राउ – Nepalboli

खाजा घरमा १२५ पुरिया गाँजा, सञ्चालक पक्राउ

   २०८३ श्रावण २५, सोमबार  

रौतहट — रौतहटको गौरमा खाजा घरको आवरणमा गाँजा बिक्री वितरण भइरहेको खुलेपछि प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ।

गौर नगरपालिका–३ स्थित ‘काजल स्टील रेलिङ्ग’ नामक खाजा घरमा खानतलासी गर्दा प्रहरीले बिक्रीका लागि छुट्टाछुट्टै पुरिया बनाएर राखिएको ७ सय ग्राम गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गौर नगरपालिका–६ का ३४ वर्षीय शुभ नारायण साह छन्। साहले सञ्चालन गर्दै आएको खाजा घरबाट गाँजा बिक्री वितरण भइरहेको विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा खाजा घरको काउन्टरको च्याकमा रहेको कालो प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजा बिक्रीका लागि तयार पारिएका १२५ वटा साना पुरियामा रहेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले खाजा घरबाट कुल ७ सय ग्राम गाँजा बरामद भएको जानकारी दिए ।

गाँजासहित पक्राउ परेका साहलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजा कारोबारमा अन्य व्यक्तिको समेत संलग्नता रहे–नरहेको विषयमा अनुसन्धान अघि बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै