देशभर मनसुनी वायुको प्रभाव, दुई प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं — देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा शनिबार अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ । हाल कोशी, मधेश र बागमती प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्य बदली छ । तराई क्षेत्रमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
हाल बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । यस्तै, कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
कहाँ–कहाँ वर्षाको सम्भावना
महाशाखाका अनुसार शनिबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
कोशी र बागमती प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ ।
विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
शनिबार राति पनि देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा समेत मध्यम वर्षा हुनसक्ने जनाइएको छ ।
त्यस्तै, कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
बाढी–पहिरोको जोखिम, सतर्क रहन आग्रह
भारी वर्षाका कारण गेग्रानसहितको बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सम्बन्धित सबैलाई पूर्वसावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।