मृग बचाउन खोज्दा पल्टियो पेट्रोल ट्याङ्कर, आगलागीपछि पूर्ण रूपमा नष्ट – Nepalboli

मृग बचाउन खोज्दा पल्टियो पेट्रोल ट्याङ्कर, आगलागीपछि पूर्ण रूपमा नष्ट

   २०८३ श्रावण २१, बिहीबार  

रौतहट– रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ । घटनामा भने कुनै मानवीय क्षति भएको छैन ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान करिब ५:३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा आएको मृगलाई जोगाउने प्रयासमा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो । ट्याङ्कर पल्टिएलगत्तै आगलागी भएको प्रहरीले जनाएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोली तथा चन्द्रपुर र निजगढ नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमका अनुसार आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि चालकसहित कुनै मानवीय क्षति भएको छैन।

दुर्घटनाका कारण केही समय प्रभावित बनेको महेन्द्र राजमार्ग अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ।

प्रहरीले ट्याङ्कर चालक बाराको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै