भारत सरकारको सहयोगमा काभ्रेपलाञ्चोकको जनक माध्यमिक विद्यालयमा नयाँ भवन निर्माणको शिलान्यास – Nepalboli

भारत सरकारको सहयोगमा काभ्रेपलाञ्चोकको जनक माध्यमिक विद्यालयमा नयाँ भवन निर्माणको शिलान्यास

   २०८३ श्रावण २१, बिहीबार  

काठमाडौं — भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–४ स्थित श्री जनक माध्यमिक विद्यालयमा नयाँ विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ।
नयाँ विद्यालय भवनको शिलान्यास भारतको काठमाडौंस्थित दूतावासका प्रथम सचिव नारायण सिंह, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा तथा नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत केन्द्रीय तह आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईले संयुक्त रूपमा गरेका हुन् ।
शिलान्यास कार्यक्रममा नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधि, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
करिब ६ करोड ३५ लाख रुपैयाँ लागतमा निर्माण हुने विद्यालय भवन भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत निर्माण हुन लागेको हो । निर्माण हुने पूर्वाधारमा १८ वटा कक्षाकोठासहित दुईवटा भवन ब्लक, विज्ञान प्रयोगशाला, पुस्तकालय तथा प्रशासनिक कक्षहरू रहनेछन् ।
कार्यक्रममा आयोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईले नेपालभर विद्यालयहरूको पुनर्निर्माणमा निरन्तर सहयोग प्रदान गरेकोमा भारत सरकारप्रति आभार व्यक्त गरे ।
त्यसैगरी, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले भारत सरकारको विकास साझेदारीप्रति प्रशंसा व्यक्त गर्दै नयाँ विद्यालय भवनले नगरपालिकाका विद्यार्थी र शिक्षकका लागि थप गुणस्तरीय तथा सुविधासम्पन्न शैक्षिक वातावरण निर्माण हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतको काठमाडौंस्थित दूतावासका प्रथम सचिव नारायण सिंहले शिलान्यास समारोहले नेपाल–भारतबीचको बलियो र दीर्घकालीन विकास साझेदारीलाई थप सुदृढ बनाएको बताए ।
भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहयोग कार्यक्रमअन्तर्गत नेपालमा हालसम्म ८५ वटा शैक्षिक संस्था, १३३ वटा स्वास्थ्य संस्था, ३० वटा सांस्कृतिक सम्पदा स्थल तथा ५० हजार निजी आवासको पुनर्निर्माणमा सहयोग प्रदान गरिसकेको दूतावासले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै