ग्यास अभावबारे मुख्यसचिवको अध्यक्षतामा छलफल
काठमाडौं – पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यास अभावको विषयमा मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ ।
छलफलमा विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल आयल निगमका पदाधिकारी तथा ग्यास उद्योगीहरूको सहभागिता रहेको थियो । बैठकमा बजारमा देखिएको ग्यास अभावको अवस्था, त्यसका कारण र तत्काल अपनाउनुपर्ने समाधानका उपायबारे विस्तृत छलफल गरिएको हो ।
छलफलका क्रममा ग्यास उद्योगीहरूले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेका छन् । उनीहरूका अनुसार आधा सिलिन्डरबाट पुनः भरी सिलिन्डर वितरण सुरु भएपछि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न थालेका कारण बजारमा माग एक्कासि बढेको हो ।
आपूर्तिलाई सहज बनाउन तथा आगामी चाडपर्वलाई लक्षित गर्दै ग्यास आयात बढाउने निर्णय बैठकले गरेको छ । साथै, वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय गर्ने सहमति पनि भएको छ ।
मुख्यसचिव कार्कीले ग्यास आपूर्तिसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायसँग आगामी दिनमा पनि निरन्तर छलफललाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।