भरतपुरमा भूमिगत ११ केभी विद्युत् लाइन चार्ज, उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह – Nepalboli

भरतपुरमा भूमिगत ११ केभी विद्युत् लाइन चार्ज, उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

   २०८३ श्रावण १९, मंगलवार  

चितवन— भरतपुर महानगर क्षेत्रमा भूमिगत विद्युतीकरणअन्तर्गत निर्माण सम्पन्न भएको ११ केभी क्षमताको भूमिगत तथा ओभरहेड विद्युत् प्रसारण लाइनमा पहिलोपटक विद्युत् प्रवाह (लाइन चार्ज) सुरु गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले परीक्षण तथा नियमित सञ्चालनको तयारीस्वरूप मंगलबार बिहानदेखि लाइन चार्ज प्रक्रिया सुरु गरेको हो ।

आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आँपटारी सब–स्टेसनबाट सुरु हुने विद्युत् लाइन आँपटारी चोक, पोखरा बसपार्क, लिला चोक, पुलचोक, न्युरोड हुँदै नारायणी नदी किनारसम्मको क्षेत्रमा निर्माण सम्पन्न भएका भूमिगत तथा ओभरहेड ११ केभी प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।

प्राधिकरणले पहिलोपटक लाइन चार्ज गरिने क्रममा सुरक्षा जोखिम हुन सक्ने भएकाले स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विद्युतीय पोल, ट्रान्सफर्मर, फिडर पिलर बक्स तथा अन्य विद्युतीय उपकरण वा संरचनालाई नछुन र सुरक्षित दूरी कायम गर्न अनुरोध गरिएको छ ।

त्यस्तै, भूमिगत केवल बिछ्याइएको मार्गमा पैदल हिँड्दा वा सवारीसाधन सञ्चालन गर्दा उच्च सतर्कता अपनाउन, साथै बालबालिकालाई विद्युतीय संरचनाको नजिक खेल्न वा जान नदिन अभिभावकलाई आग्रह गरिएको छ ।

आयोजना प्रमुख सुवेदीले अनुमति बिना लाइन चार्ज गरिएको क्षेत्रमा उत्खनन, खाल्डो खन्ने, तार काट्ने वा अन्य कुनै निर्माणसम्बन्धी गतिविधि नगर्न चेतावनी दिएका छन्।

भरतपुरमा भूमिगत विद्युत् पूर्वाधार निर्माण सम्पन्न भएसँगै अब परीक्षणका रूपमा लाइन चार्ज सुरु गरिएको हो। परीक्षण सफल भएपछि उक्त प्रणाली नियमित सञ्चालनमा आउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै