सामाजिक सद्भाव र शान्ति कायम राख्न मधेस प्रदेश सरकारको अपिल, घाइतेको निस्शुल्क उपचार गर्ने निर्णय – Nepalboli

सामाजिक सद्भाव र शान्ति कायम राख्न मधेस प्रदेश सरकारको अपिल, घाइतेको निस्शुल्क उपचार गर्ने निर्णय

   २०८३ श्रावण १४, बिहीबार  

मधेस प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेशको विद्यमान शान्ति-सुरक्षा अवस्थाको समीक्षा गर्दै नागरिकको जिउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, जनकपुरधाममा बिहीबार मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा भएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासम्बन्धी घटनाबारे गम्भीर समीक्षा गरेको हो।

बैठकले सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सम्भावित सुरक्षा चुनौतीको समयमै पहिचान, रोकथाम तथा प्रभावकारी व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएको छ।

सरकारले प्रदेशमा शान्ति, सामाजिक सद्भाव तथा धार्मिक एवं सांस्कृतिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, विभिन्न सङ्घ-संस्था, धार्मिक गुरु, बुद्धिजीवी, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकलाई संयमता र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

त्यस्तै, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट अपुष्ट, भ्रामक वा समाजमा द्वेष, हिंसा एवम् अशान्ति फैलाउन सक्ने सामग्री सम्प्रेषण नगर्न र आधिकारिक निकायबाट जारी सूचनामा मात्र विश्वास गर्न प्रदेश सरकारले अनुरोध गरेको छ।

मन्त्रीपरिषद्ले पछिल्ला घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धमानसमेत व्यक्त गरेको छ। प्रदेश सरकारले शान्ति-सुरक्षा, सुशासन र नागरिक अधिकारको संरक्षणप्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै