सामाजिक सद्भाव कायम गर्न आठ दलको संयुक्त अपिल
सुनसरी लगायतका जिल्लामा हालै भएका संवेदनशील घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आठ राजनीतिक दलले सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न संयुक्त अपिल गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकपछि जारी संयुक्त विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
दलहरूले नेपालको विविधताबिचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई कमजोर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबै नागरिकसँग आग्रह गरेका छन्। उनीहरूले समस्या समाधानका लागि आवेग र उत्तेजनाभन्दा पनि शान्तिपूर्ण संवाद तथा सहमतिको मार्ग अपनाउनुपर्नेमा जोड दिएका छन्।
विज्ञप्तिमा प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न तथा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनसँग समन्वय गरेर शान्ति कायम राख्न सम्बन्धित पार्टीका स्थानीय समितिलाई निर्देशन दिइएको उल्लेख छ।
यसैगरी, संवेदनशील अवस्थामा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न, भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाह नफैलाउन आम नागरिक तथा सञ्चारमाध्यमसँग अपिल गरिएको छ।
संयुक्त विज्ञप्तिमार्फत दलहरूले नागरिकको जिउधनको सुरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनबमोजिम कारबाही, पीडितलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै दलहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिको पक्षमा एकताबद्ध भएर सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
संयुक्त विज्ञप्तिमा रास्वपाका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव ओसन राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत तथा जसपा नेपालका नेता प्रकाश अधिकारीको हस्ताक्षर रहेको छ।