कानुन मन्त्रीद्वारा राष्ट्रिय सभाका अध्यक्षलाई १६६ विधेयकको सूची हस्तान्तरण – Nepalboli

कानुन मन्त्रीद्वारा राष्ट्रिय सभाका अध्यक्षलाई १६६ विधेयकको सूची हस्तान्तरण

   २०८३ असार ३१, बुधबार  

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेट गरी सरकारले सङ्घीय संसद्‌मा ल्याउने तयारी गरेका १६६ वटा विधेयकको सूची बुझाउनुभएको छ।

भेटका क्रममा अध्यक्ष दाहालले सरकारले सङ्घीय संसद्‌मा पेस गर्ने विधेयकहरूको तयारी गरिरहेको थाहा पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले संविधानको कार्यान्वयनका लागि थुप्रै कानुनहरू निर्माण गर्न बाँकी रहेको र सङ्घीय संसद्‌लाई बिजनेस (कार्यसूची) आवश्यक भएको उल्लेख गर्दै सरकारका तर्फबाट जतिसक्दो छिटो विधेयक पेस गर्न आग्रह गर्नुभयो। छिटो–छरितो ऐन–कानुन निर्माण गरी देश र जनतालाई थप सहज गराउन र कानुनी व्यवस्थाको प्रत्याभूति दिलाउन सबैको सकारात्मक पहलकदमी जरुरी रहेको उहाँको भनाइ थियो।

अध्यक्ष दाहालले सरकारले जतिसक्दो छिटो र धेरै विधेयक संसद्‌मा पेस गरेमा कानुन निर्माणको काममा राष्ट्रिय सभाले कुनै पनि ढिलाइ नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो अवसरमा सङ्घीय संसद्‌मा पेस गर्ने विधेयकहरूको प्राथमिकता समेत निर्धारण गरेर तयारी गरिरहेको जानकारी दिँदै मन्त्री गौतमले संसद्‌लाई बिजनेसविहीन हुन नदिने स्पष्ट पार्नुभयो।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै