काठमाडौंमा १४औँ दलाई लामाको ९१औँ जन्मदिन मनाइयो
काठमाडौँमा बसोबास गर्ने तिब्बतीमूलका नेपाली तथा तिब्बती शरणार्थी समुदायले १४औँ दलाई लामाको ९१औँ जन्मदिन विशेष धार्मिक कार्यक्रमका साथ मनाएका छन् । दलाई लामाको दीर्घायुको कामना गर्दै आयोजित कार्यक्रममा विशेष पूजा, प्रार्थना तथा परम्परागत बाजागाजासहित सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो। कार्यक्रममा नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।
विश्वभर छरिएका तिब्बती समुदायले प्रत्येक वर्ष जुलाई ६ मा दलाई लामाको जन्मदिन विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रममार्फत मनाउने गरेका छन्। सोमबार १४औँ दलाई लामा ९१ वर्ष पुगेका हुन् ।
दलाई लामाले सन् १९५० मा तिब्बतको आध्यात्मिक तथा राजनीतिक नेतृत्व सम्हालेका थिए। सन् १९५९ मा चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि उनी भारत पुगेका थिए। त्यसयता उनी भारतको हिमाचल प्रदेशस्थित धर्मशालामा निर्वासनको जीवन बिताइरहेका छन्।
यता, दलाई लामाको जन्मदिनका अवसरमा सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। तिब्बतीमूलका नेपाली तथा तिब्बती शरणार्थीको बाक्लो बसोबास रहेका बौद्ध, स्वयम्भू र जावलाखेल क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ।
नेपाल सरकारले दलाई लामाको जन्मदिनका अवसरमा चीनविरोधी गतिविधि हुन सक्ने भन्दै विगतदेखि नै तिब्बती शरणार्थीका राजनीतिक गतिविधिमाथि कडाइ गर्दै आएको छ।