मन्त्रीपरिषद् बैठकका १० निर्णय
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त गर्नेसहित विभिन्न १० निर्णय गरेको हो । सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका रावललाई नियुक्ति गर्ने निर्णय गरेको हो ।
बिहीबारको मन्त्रीपरिषद् बैठकले नीतिगत स्वीकृतिका साथै महत्त्वपूर्ण नियुक्ति तथा सरुवा गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयको प्रस्ताव अनुसार सरकारले नेपाल प्रहरीमा कार्यरत आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई सरुवा गर्ने निर्णय गरेको छ ।
सरकारले पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्ति गरेको छ ।
त्यसैगरी सरकारले सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
सरकारले सामाजिक तथा प्रशासनिक सुधारका लागि विभिन्न नियमावली र नीति स्वीकृत गरेको छ । बिहीबारको बैठकबाट भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा ‘कमैया श्रम (निषेध गर्ने) सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३’ स्वीकृत भएको हो ।
त्यसैगरी शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा ‘शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३’ र ‘राष्ट्रिय सदाचार नीति, २०८३’ र ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ लाई समेत स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ ।
