निर्वाचन परिणामले जनसम्बन्ध सुदृढ पार्ने अवसर दिएको छ- पूर्व राष्ट्रपति भण्डारी – Nepalboli

निर्वाचन परिणामले जनसम्बन्ध सुदृढ पार्ने अवसर दिएको छ- पूर्व राष्ट्रपति भण्डारी

   २०८३ असार १४, आईतवार  

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा उभिएको बताउनुभएको छ। जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा उहाँले जनताबाट निरन्तर विश्वास, माया र समर्पण प्राप्त गर्न सफल कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ बनाउनुपर्ने धारणा राख्नुभएको हो।

गोष्ठीलाई सम्बोधन गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो, “आज नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा उभिएको छ। जनताबाट निरन्तर विश्वास, माया र समर्पण प्राप्त गर्न सफल भएको यस आन्दोलनलाई अझ प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउँदै जनतासँगको सम्बन्धलाई थप सुदृढ गर्ने विषय गम्भीर समीक्षा र आत्ममन्थनको विषय बन्न पुगेको छ।”

उहाँले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन परिणामले जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको भन्नुहुँदै एकै निर्वाचन परिणामको आधारमा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न उचित नहुने प्रस्ट पार्नुभयो।

उहाँले भन्नुभयो, “हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिका सामु आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ। यस सन्देशलाई हामीले गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक छ। तर, कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन।”

अब विगतको उपलब्धिको स्मरण मात्र पर्याप्त नहुने उल्लेख गर्नुहुँदै उहाँले वर्तमानका जटिल प्रश्नको विश्वसनीय उत्तर दिन सक्ने वैचारिक क्षमता र राजनीतिक सृजनशीलता आवश्यक रहेको औँल्याउनुभयो।

पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो, “युवा पुस्ताका आकाङ्क्षा, डिजिटल युगका चुनौती, गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सामाजिक न्याय, सुशासन, उत्पादनमुखी अर्थतन्त्र तथा राष्ट्रिय आत्मनिर्भरताका विषयमा समयानुकूल नयाँ दृष्टिकोण विकास गरी त्यसको व्यावहारिक कार्यान्वयन गर्न सक्दा नै कम्युनिस्ट आन्दोलनलाई सुदृढ र लोकप्रिय बनाउन सकिन्छ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै