कांग्रेसको १५ औँ महाधिवेशन- क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप – Nepalboli

कांग्रेसको १५ औँ महाधिवेशन- क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप

   २०८३ जेष्ठ ३०, शनिबार  

काठमाडौ-  नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले पार्टीको आगामी १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप गरेको छ। पार्टीका महामन्त्री एवं संयोजक प्रदीप पौडेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले हिमाली तथा विकट जिल्ला, जनसम्पर्क समिति र नयाँ सदस्यता वितरणको समयसीमा थप गर्ने निर्णय गरेको हो।

बैठकले देशका अधिकांश क्षेत्रमा डिजिटल प्रणालीमार्फत सदस्यता अद्यावधिक भइरहेको जानकारी दिँदै अहिलेसम्म कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये ६ लाख ८७ हजार ९३१ जनाको विवरण प्रविष्ट भइसकेको जनाएको छ। तीमध्ये ५ लाख ३८ हजार ६२२ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन् भने बाँकीको फाराम वडा तहमा अद्यावधिकको प्रक्रियामा छ।

अनलाइनमार्फत प्रविष्ट भएका फारामहरू वडा तहबाट यही २०८३ असार ५ गतेभित्र अनुमोदन गरिसक्न समितिले निर्देशन दिएको छ। तोकिएको समयभित्र वडाले अनुमोदन नगरेमा केन्द्रले स्वतः अनुमोदन गर्ने व्यवस्था मिलाएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

इन्टरनेटको पहुँच कम भएका उच्च हिमाली क्षेत्र, विकट पहाडी जिल्ला तथा अद्यावधिकमा ढिलाइ भएका बारा र खोटाङका हकमा असार ७ गतेसम्म समय थपिएको छ। यस्तै, विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि असार १० गते र अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता वितरण कार्य असार २० गतेसम्मका लागि कायम गरिएको छ।

नयाँ तथा पुराना सदस्यहरूले विधान बमोजिम तोकिएको शुल्क नबुझाई प्रविष्टि गरेको भए यथाशीघ्र शुल्क बुझाउन सम्बन्धित तहका सभापतिहरूलाई निर्देशन दिइएको छ। तोकिएको शुल्क नबुझाउने सदस्यले १५ औँ महाधिवेशनको प्रक्रियामा भाग लिन पाउने छैनन्।

विविध कारणले वडाबाट नवीकरण छुट भएका सदस्य र पुराना सदस्य तर विवरण नयाँमा प्रविष्ट भएकाहरूको हकमा पनि असार २० गतेभित्र केन्द्रीय कार्यालयमा प्रमाणसहित आवेदन दिएमा डिजिटल प्रणालीमा नाम निरन्तरता दिइने निर्णय कांग्रेसले गरेको छ।

नेपाली कांग्रेसले पार्टी विधानको व्यवस्था अनुसार ३५ वर्षमुनिका युवाहरूलाई क्रियाशील सदस्यता वितरण गर्न युवा केन्द्रित अभियानु सञ्चालन गर्ने निर्णय गरेको छ। यसका साथै, विषयविज्ञ र हाल विदेशमा रहेका पुराना सदस्यहरूको अद्यावधिक कार्य पनि असार २० गतेसम्म गर्ने निर्णय भएको छ। डिजिटल प्रणालीमा प्रविष्ट विवरणमा कुनै त्रुटि भएमा नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणसहित असार १ गतेदेखि असार मसान्तसम्म सच्याउन सकिने छ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै