सरकारले समतालाई केन्द्रमा राखेर बजेट ल्याएको छ- अर्थमन्त्री डा वाग्ले – Nepalboli

सरकारले समतालाई केन्द्रमा राखेर बजेट ल्याएको छ- अर्थमन्त्री डा वाग्ले

   २०८३ जेष्ठ २८, बिहीबार  

काठमाडौँ-  अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले समतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गर्नुभएको छ। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाइएको स्पष्ट पार्नुभयो। विपक्षी दलहरूले संविधानको मर्मविपरीत बजेट आएको भनी लगाएको आरोपको खण्डन गर्दै उहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। समन्यायिक समुन्नति र समृद्धिलाई बजेटको मुख्य लक्ष्य बनाइएको उहाँको भनाइ थियो।

बजेटमा समाजवादु शब्द स्पष्ट रूपमा उल्लेख नभए पनि समताको एजेन्डालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने प्रयास बजेटमार्फत गरिएको अर्थमन्त्री डा वाग्लेले बताउनुभयो। उहाँले सरकार पाँचवर्षे प्रतिबद्धता र जनताले अनुमोदन गरेको एजेन्डाप्रति दृढ रहेको उल्लेख गर्नुभयो। सरकारका नीति, कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेटबिच उच्च स्तरको सङ्गति रहेको उहाँले दाबी गर्नुभयो।

अर्थमन्त्री डा वाग्लेले भन्नुभयो, “मैले बुझेको भाषा अथवा मेरो पार्टीले बोकेको एजेन्डाजस्तो बजेट आएन भनेर गुनासो गर्नु त एक ठाउँमा रह्यो तर पाँच वर्षसम्मका लागि हाम्रो अर्जुनदृष्टि भनेको हामीले नै गरेको वाचा र जनताले अनुमोदन गरेको एजेन्डा नै हो, त्यसप्रति अत्यन्तै वफादार रहेर हामीले कार्यक्रमहरू अगाडि बढाएका छौँ। १०० वटा शासकीय सुधार, नीति कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेट सबैमा अभूतपूर्व सङ्गति छ। यसलाई त्यही कोणबाट हेरिदिनुहोला।”

उहाँले थप्नुभयो, “हाम्रो विगत ३०–४० वर्षको राजनीति अलि वाम प्रेरित नै थियो, त्यो भाष्यमा गढेर पनि बसेको छ, त्यसबाट हामीले प्रेरणा पनि लिएका छौँ। संविधानको खिलाफमा भयो भन्ने कुरा विल्कुल गलत छ, समतालाई हामीले केन्द्रबिन्दुमा राखेका छौँ। आर्थिक वृद्धिको कुरा गर्दै गर्दा पनि समतासहितको वृद्धिको कुरा हामीले गरेका छौँ। समन्यायिक समुन्नति, समृद्धिका कुरा गरेका छौँ। त्यसैले ठ्याक्कै समाजवाद भन्ने शब्द नपरे पनि समताको एजेन्डालाई हामीले अगाडि सारेका छौँ।”

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै