आर्थिक सुधार प्रतिवेदन कार्यान्वयनमा जोड दिन पूर्व अर्थमन्त्री खनालको सुझाव
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट तयारीसम्बन्धी छलफलका क्रममा पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारलाई स्पष्ट सुझाव दिएका छन्। पूर्व अर्थमन्त्री खनालले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँगको छलफलका क्रममा प्रतिवेदनमा उल्लेख गरिएका सुधारका प्रावधानहरूलाई व्यवहारमा उतार्न ढिलाइ नगर्नुपर्नेमा जोड दिएका हुन्। उनले यसअघि आफू अर्थमन्त्री रहेका समयमा पनि सो प्रतिवेदनका आधारमा काम अघि बढाइएको स्मरण गराए।
खनालले बजेट विनियोजन गर्दा ऊर्जा क्षेत्रका विद्युत् आपूर्तिमा मूल्य अभिवृद्धि कर नलगाउन सुझाव दिँदै लगानी नीति स्पष्ट र स्थिर हुनुपर्ने धारणा राखे। साथै, पर्याप्त तयारी नभएका साना तथा टुक्रे आयोजनामा स्रोत विनियोजन नगर्नुपर्नेमा पनि उनले ध्यानाकर्षण गराएका छन्।