धनगढीमा दुई हजार घरमा बाढी पस्यो, आठ जनाको उद्धार
कैलाली । आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन् । डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उहाँसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ । त्यसैगरी, धनगढी–१३ श्रीलङ्काका एकै परिवारका चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ ।
सूचना अधिकारी जोसीले गएराति देखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै दुई हजार घरमा पानी पसेको बताउनुभयो । जसमा धनगढीका ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएको उहाँको भनाइ छ ।
गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५, पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार विकको परिवारलाई नजिकै रहेको पवित्र आधारभूत विद्यालयमा सारिएको छ । वर्षाका कारण विकको घर डुबानमा परेपछि परिवारलाई सुरक्षित रूपमा विद्यालयमा सारिएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो।
“वर्षा हुने क्रम निरन्तर जारी रहेकाले खोला नालामा माछा मार्न हिँड्डुल गर्न तथा जथाभाबी घर बाहिर नजानका लागि आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “डुबान तथा कुनै क्षति हुन गएमा नजिकको प्रहरी चौकीमा खबर गर्नका लागि स्थानीयसँग अनुरोध गरेका छौँ ।” उहाँका अनुसार महाकाली नदीमा पानीको बहाव खतरा तहभन्दा तल ६५ हजार चार सय ९० क्युसेक रहेको छ ।
मोहना, चौधर, स्याली, सुनवोरालगायत नदीमा पानीको बहाव उच्च रहेको छ । मानवीय र चौपाया क्षति भने अहिलेसम्म नभएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।
यसैबिच जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै जिल्लाको अधिकांश स्थानमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र, डुबान भइरहने होचा भूभागमा बाढीको जोखिम रहेकाले भोलि बिहानसम्म उच्च सर्तकताका साथ सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।