राजावादीहरुको चैत १५ गतेको तीनकुने अराजक घटनामा ६१ जनाविरूद्ध मुद्दा – Nepalboli

राजावादीहरुको चैत १५ गतेको तीनकुने अराजक घटनामा ६१ जनाविरूद्ध मुद्दा

   २०८२ जेष्ठ ११, आईतवार  

रवीन्द्र मिश्र र धवल शम्शेर राणालाई राजद्रोहको मुद्धा , दुर्गा प्रसाईंलाई ज्यान मार्ने उद्योगमा मुद्दा

काठमाडौंको तीनकुनेमा राजावादीहरुले चैत १५ गते गरेको अराजक प्रर्दशन सहितको आन्दोलनको घटनामा सरकारी वकिल कार्यालय काठमाडौंले ६१ जनाविरूद्ध मुद्दा चलाउने गरी अदालतमा मुद्दा दर्ता पेश गरेको छ । प्रहरीले अनुुसन्धान गरेर तयार पारेको प्रतिवेदनको आधारमा जिल्ला अदालत काठमाडौंमा सरकारी वकिलले मुद्दा दर्ताका लागी आइतबार कागजातहरु पेश गरेका हुन ।

प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाका अनुसार ६१ जनाविरूद्ध आइतबार मुद्दा दर्ता भएको छ । त्यसबाहेक ४ जना नाबालक पनि छन्। उनीहरूविरूद्ध सोमबार बाल अदालतमा मुद्दा दर्ता गर्न लागेको हो।

६१ जनामध्ये ५० जनाविरूद्ध राजद्रोहको मुद्दा दर्ता प्रक्रियामा छ। त्यसबाहेक ११ जनाविरूद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता हुने भएको हो। यसमध्ये राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरूद्ध पनि राजद्रोहमा मुद्दा दर्ता हुने भएको हो।

त्यस्तै गरी दुर्गा प्रसाईंसहित आठ जनाविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हुने भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले १०८ जनाविरूद्ध मुद्दा चलाउन राय दिएको थियो। कतिपयको परिचय र ठेगाना नखुल्ने गरी मुद्दा चलाउन राय दिएको थियो।

त्यसमा अभियोजन गरी सरकारी वकिलले ६१ जनाविरूद्ध मुद्दा चलाउन दर्ता गर्न लागेको हो। प्रहरीले उनीहरूमाथि संगठित अपराधमा अनुसन्धान गरिरहेको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै