नेपाल प्रहरीमा चिनियाँ भाषाको प्रशिक्षण
नेपाल प्रहरीमा चिनियाँ भाषा प्रशिक्षण दिइएको छ। नेपाल प्रहरीको पर्यटन क्षेत्रमा कार्यरत रहेका प्रहरी कर्मचारीलाई दुुई महिनो चिनियाँ भाषाको प्रशिक्षण दिईएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
पर्यटक प्रहरी, इमर्जन म्यान्डरिन एकेडेमी (आइएमए) र इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा पर्यटक प्रहरीलाई दुई महिने चिनियाँ भाषा प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणमा सहभागी पर्यटक प्रहरीलाई बुधबार प्रमाणपत्र वितरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले पर्यटक प्रहरीलाई चिनियाँ पर्यटकसँग सञ्चार गर्न र उनीहरूको समस्या समाधान गर्न सहज हुने बताए । पर्यटक प्रहरीलाई अन्य भाषाको पनि प्रशिक्षण दिन जरुरी रहेको उनको भनाइ छ।
साथै, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपाल र चीन छिमेकी मुलुक भएकाले एक आपसमा भाषा जाने हरेक कुरामा सहज हुने धारणा व्यक्त गरे।
यस्तै चिनियाँ राजदूतावासका काउन्सिलर वाङ्छिन, नेपाल पर्यटन बोर्डका महानिर्देशक होमप्रसाद लुइँटेल, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठलगायतले प्रशिक्षणबाट पर्यटक प्रहरीलाई काम गर्न थप हौसला मिल्ने बताए ।
