सांसद चौधरीविरुद्धको रिट खारेज – Nepalboli

सांसद चौधरीविरुद्धको रिट खारेज

   २०८१ माघ २, बुधबार  

सर्वोच्च अदालतले पुर्व पर्यटन राज्यमन्त्री एवं कैलाली क्षेत्र नं २ का सांसद अरुणकुमार चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएको छ। साथै उनको सांंसद पद जोगिएको छ।सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार निर्णय सुनाउँदै रिट खारेज गरिदिएको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यो निर्णय सुनाएको हो। निर्वाचन अधिकृत वा सम्बन्धित अदालतमा जाने वैकल्पिक कानुनी उपचारको मार्ग हुँदाहुँदै सर्वोच्चमा यो विवाद ल्याएको भन्दै संवैधानिक इजलासले रिट खारेज गरिदिएको हो।

आदेशमा भनिएको छ, ‘प्रत्यर्थी प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली जिल्ला, निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको देखियो। निज अरुणकुमार चौधरीको नेपालको संविधानको धारा ८७ बमोजिम प्रतिनिधि सभा सदस्यका लागि योग्यता नपुगेको वा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्यता रहेको वा ऐ। ऐनको दफा १२ बमोजिम तोकिएको योग्यता नरहेको भन्ने नदेखिएको स्थितिमा उम्मेदवारी दर्ता गर्दा पेस गरेको मनोनयन पत्रमा जानीजानी झुटो विवरण पेस गरेको भए सो विषयको उजुरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३ बमोजिम निर्वाचन अधिकृतसमक्ष वा ऐ ऐनको दफा ४३ बमोजिम सम्बन्धित अदालतमा दिन सक्ने वैकल्पिक कानुनी उपचारको मार्ग अवलम्बन नभएको परिप्रेक्ष्यमा निज अरुणकुमार चौधरीलाई प्रतिनिधि सभा सदस्य पदमा कायम रहने योग्यता नरहेको भन्न मिल्ने नदेखिएको हुँदा रिट निवेदन खारेज हुने ठहर्छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै