कुन–कुन सडक खुले, कुन अझै अवरुद्ध ? – Nepalboli

कुन–कुन सडक खुले, कुन अझै अवरुद्ध ?

   २०८१ आश्विन १६, बुधबार  

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार काठमाडौँ–नौबिसे–दामन–हेटौँडा सडक सुचारु भएको छ । प्रहरीले उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार काठमाडौँ–मुग्लिङ–चितवन सडकखण्ड खुले पनि जाम रहेको अवस्था छ । चितवन–दाउन्ने–बुटवल सडक खुला गराए पनि राति १० देखि बिहान ५ बजेसम्म बन्द हुनेछ । हालसम्म खुलाइएको सडकखण्डहरुमध्ये मुग्लिन–पोखरा–बाग्लुङ सडक, हेटौँडा–पथलैया–जनकपुर सडक, बर्दिबास–कोशी ब्यारेज–इटहरी सडक, इटहरी–दमक–काँकडभित्ता सडक खुला भएको छ ।

यसैगरी, बुटवल–नेपालगञ्ज–धनगढी, नेपालगञ्ज–सुर्खेत–दैलेख, नेपालगञ्ज–चिसापानी–धनगढी र काठमाडौँ–सिन्धुपाल्चोक–दोलखा सडकखण्ड खुला भएको छ ।

कुन–कुन अवरुद्ध छन् :
भारी वर्षापछि बाढी, पहिरो र डुबानका कारण अझैपनि एक दर्जनभन्दा बढी राजमार्ग र सडकहरू ठप्प छन् । कतिपय सडक खुलाउन मर्मत सम्भारको काम चलिरहेको छ भने केही सडकहरूमा एकतर्फी यातायात सञ्चालन भएको छ ।

नेपाल प्रहरीका अनुसार बुधबार साँझ ६ बजेसम्म ललितपुरको लेले-टिकाभैरव सडक एकतर्फीरुपमा खुलेको छ । वीपी राजमार्गमा पहिरोका कारण अवरुद्ध सुनकोशी गाउँपालिका-२ स्थित कमेरेफाँडे खण्ड एकतर्फी सञ्चालनमा आएको छ । त्यस्तै, सोही राजमार्गको सुनकोशी गाउँपालिका-६ स्थित सडकमा समेत एकतर्फी सडक खुलाइएको प्रहरीले जनाएको छ ।

सिन्धुलीकै मध्यपहाडी लोकमार्गअन्तर्गत फिक्कल गाउँपालिका क्षेत्रको सडकमा समेत पहिरो पन्छाएर एकतर्फीरुपमा सडक खुलाइएको छ । अन्य १३ वडा राजमार्ग र सडकहरू भने अझैपनि पूर्णरुपमा अवरुद्ध छन् ।

बीपी राजमार्गको काभ्रे र सिन्धुलीमा बाढी र पहिरोका कारण अवरुद्ध सडक खुलेको छैन । प्रहरीले यात्रामा निस्कन अघि ११४९, १०३, १०० मा सम्पर्क गरेर सडकको अवस्था बुझ्न सकिने जनाएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै