समाजवादी मोर्चा नयाँ ढङ्गले अघि बढाउन चाहेका छौँ-अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले, जनता समाजवादी पार्टीसहितलाई समेटेर समाजवादी मोर्चालाई अघि बढाउन चाहेको उल्लेख गर्नुभएको छ । नेपालमा समाजवादका पूर्वाधार निर्माण र त्यसतर्फको यात्राका लागि मोर्चा आवश्यक पर्ने उहाँले औँल्याउनुभयो ।
समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले समाजवादी मोर्चालाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
“हामीले समाजवादी मोर्चा नयाँ तरिकाले अघि बढाउन चाहेका छौँ । विभिन्न घटक र समूहसँग कुरा भएको छ । पाँच वटा घटक एक ठाउँमा हुन तयार छन्,” उहाँले भन्नुभयो, “उपेन्द्र यादवको जसपालाई पनि ल्याउन खोजेका छौँ । एमालेलाई पनि सामेल गर्न खोजेको हो, आउन चाहेको छैन ।”
सत्ता गठबन्धनमा प्रधानमन्त्री हुने सहमतिबारे पत्रकारले सोधेको प्रश्नमा उहाँले आफू प्रधानमन्त्रीका लागि २४ घण्टा सोचेर नबस्ने टिप्पणी गर्नुभयो । उहाँले पहिले पनि आफू परिस्थितिबाट प्रधानमन्त्री बनेको जनाउँदै अहिले पार्टीको महाधिवेशनमा केन्द्रित रहेको जनाउनुभयो ।