गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्व मोहनप्रसाद यादवसहित १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।नवराजपुर-२ मझौरामा प्रदेश सरकारको सांसद अनुदानबाट राम जानकी दलित आधारभूत विद्यालय मझौरामा अधुरो कार्य पूरा गर्नको लागि दिएको रकमको योजनामा कुनै पनि कार्य नगरी सम्पूर्ण रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूले १४ लाख ५१ हजार ५५१ रूपैयाँ हिनामिना गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
आरोपपत्रमा यादवसहित गाउँपालिका उपाध्यक्ष शोभा कुमारी यादव भन्ने शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोम प्रसाद आचार्य, इन्जिनियर कृष्णा साह र सव-इन्जिनियर सन्तोष कुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेश कुमार निधि र तत्कालीन जिन्सी प्रमुख संजय प्रसाद यादवलाई प्रतिवादी बनाइएको छ ।
साथै, उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनी देवी मण्डल र सचिव रामभरोस मुखिया मलाह, वडा नं ४ का वडा अध्यक्ष मदन यादव, वडा नं ५ का तत्कालीन वडाध्यक्ष मनोज कुमार यादव र वडा नं २ का तत्कालीन वडाध्यक्ष खुशिलाल साहलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।