प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कनुहुँदै
भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथ ग्रहण समारोहमा भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणमा आइतबार दिउँसो भारत प्रस्थान गर्नुभएका उहाँले भरतमा समकक्षी मोदीको शपथग्रहण समारोहमा भाग लिनुका साथै शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरूबिच नेपाल–भारतबिच रही आएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबिच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।
यसैगरि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गर्नुभएको हो ।
सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबिच नेपाल–भारतबिच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी उहाँहरूबिच दुई देशबिचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सशथ ग्रहण समारोहमा सहभागी हुनुभएको थियो । शपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी मोदीबिच भेटवार्ता भएको थियो ।
आइतबार साँझ नै राष्ट्रपति मुर्मुले आयोजना गर्नुभएको रात्रिभोजमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुभएको थियो । प्रधानमन्त्री प्रचण्ड आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ ।