मधेश प्रदेशको नयाँ दुई मन्त्रीले लिनुभयो शपथ
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आइतबार आफनो मन्त्रिपरिषदमा दुई जना मन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । यो सँगै तीन राज्यमन्त्रीसहित मधेश प्रदेशको मन्त्रिपरिषद १६ सदस्यीय पुगेको छ ।
मुख्यमन्त्री सिंहको सिफारिसमा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम जनमत पार्टीका शत्रुधन साहलाई वन तथा बातावरण र सकिल मियाँलाई विनाविभागिय मन्त्रीको जिम्मेवारी तोक्नु भएको हो ।
नयाँ जिम्मेवारी पाउनु भएका दुवैै जनालाई प्रदेश प्रमुखको कार्यकक्षमा आयोजित कार्यक्रमविच प्रदेश प्रमुख भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउनुभयो । कार्यक्रममा मुख्यमन्त्री सिंहसहित मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, मधेश सरकारका मन्त्रीहरु र उच्च अधिकारीको सहभागिता रहेको थियो ।