सहकारी छानबिन प्रतिवेदनहरू उपलब्ध गराउन विशेष समितिको आग्रह
सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी छानबिनसँग सम्बन्धित प्रतिवेदनहरु उपलब्ध गराउन सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी छानबिनका लागि विगतमा गठित समिति तथा जाँचबुझ आयोगहरूको प्रतिवेदन तत्काल उपलब्ध गराउन सम्बद्ध पक्षलाई आग्रह गर्ने निर्णय गरेको हो ।
सहकारी छानबिनको सम्बन्धमा विगतमा बनेका सबै छानबिन समिति र जाँचबुझ आयोगहरूको प्रतिवेदन उपलब्ध गराउनका लागि सम्बद्ध सबै पक्षलाई असार २ गतेभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय पनि गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए ।
बैठकमा विशेष समितिको कार्यविधिको मस्यौदा पनि छलफल सुरु गरिएको छ । त्यसलाई अन्तिम रूप दिनुअघि कार्यादेशबारे स्पष्ट हुनका लागि कार्यदलका संयोजक र सदस्यहरूसँग पनि छलफल गर्ने निर्णय गर्दै त्यसका लागि असार २ गते बैठक बस्ने निर्णय पनि गरिएको सभापति थापाले बताए ।