मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिस सिंह नियुक्त, सपथ दिएर पदभार समेत ग्रहण – Nepalboli

मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिस सिंह नियुक्त, सपथ दिएर पदभार समेत ग्रहण

   २०८१ जेष्ठ २५, शुक्रबार  

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शपथ लिनुभएको छ । शुक्रबार मध्याह्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट सिंहले शपथ लिनुभएको हो । जनमत पार्टीका सांसद सिंह आज मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

प्रदेश प्रमुख सुवेदी संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थनसहित दाबी परेपछि सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

उहाँलाई सङ्घीय सत्ता गठबन्धनमा रहेका दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीलगायत बहुमत प्रदेशसभा सदस्यले समर्थन गरेका छन् ।

सिंह सप्तरी निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित हुनुहुन्छ । यसअघि उहाँ २०७४ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष निर्वाचित हुनुभएको थियो । त्यसपछि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका अध्यक्षमा पराजित भएपछि सोही वर्षको आम निर्वाचनमा जनमतबाट उम्मेदवार भई प्रदेशसभा सदस्य हुनुभएको थियो ।

नवनियुक्त मुख्यमन्त्री सिंहले आजै १४ सदस्यीय मन्त्रिपरिषद् समेत गठन गरेका छन् ।

सिंहले एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त गरेका हुन् । त्यस्तै माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराईलाई नियुक्त भएका छन् ।

नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइ मन्त्री भएका छन् ।

गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाल समाजवादी पार्टीकी बिमला अंशारी तरुनम र नागरिक उनमुक्ति पार्टीकी उर्मिला देवी सिंह श्रम तथा यातायता मन्त्री बनेकी छन् ।

मधेश प्रदेशको मन्त्रिपरिषद्‌मा तीन जना राज्यमन्त्री भएका छन् । एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री शारदा थापा, शिक्षा तथा संस्कृत राज्यमन्त्री केशव राय र जनमतकी रञ्जु खंगले विना विभागीय राज्यमन्त्रीको शपथ लिएकी छन् ।

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै