मधेस प्रदेशका मुख्यमन्त्री यादव विश्वासको मत लिन असफल
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन् । बुधबार मधेस प्रदेश सभामा उनले राखेको विश्वासको मत लिने प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएको हो । यससँगै उनी पदमुक्त भएका छन् । प्रदेश सभामा मुख्यमन्त्री यादवले राखेको मत लिने प्रस्तावको पक्षमा ५० मत परेको थियो । त्यस्तै, प्रस्तावको विपक्षमा ५३ मत परेको थियो । तटस्थमा ० मत पर्यो । मतदानमा १०३ सांसद सहभागी रहेको सभामुख रामचन्द्र मण्डलले बताए ।
मुख्यमन्त्री यादवले पाँचौं पटक विश्वासको मत लिने प्रयत्न गरेका थिए । उनको दल जसपा नेपाल गत वैशाख २२ गते विभाजन भएपछि उनले बुधबार मध्यरात १२ बजेअघि नै विश्वासको मत लिनुपर्ने बाध्यता सिर्जना भएको थियो ।
यद्यपि, जसपा नेपाल विभाजनका कारण मुख्यमन्त्रीले बुधबार मध्यरात १२ बजेभित्र विश्वासको मत लिनुपर्ने चर्चा यसअघि चलेको थियो । विभाजनबारे अदालतमा मुद्दा चलिरहेको र प्रदेश सभामा विभाजन प्रक्रियाले पूर्णता पाइनसकेको अवस्थामा यो विषय ओझेलमा परेको थियो ।
बुधबारभित्रै विश्वासको मत नलिए बिहीबारदेखि नयाँ प्रक्रिया सुरु गर्न विभिन्न दलहरू र प्रदेश प्रमुख सुमित्रा भण्डारीले कसरत सुरु गरेपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन तयार भएका थिए ।