नेपालको हवाई क्षेत्र ईयूको कालोसूचीमा कायमै
नेपालको नागरिक उड्डयन (हवाई) क्षेत्र युरोपेली युनियन (ईयू) को उडान सुरक्षा चासो (कालोसूची) मा पुनः दोहोरिएको छ । ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको छ । ३० मे २०२४ मा युनियनले अपडेट गरेको नयाँ सूचीमा नेपाल कालोसूचीमै रहेको छ । ईयूको उडान सुरक्षा चासोको सूचीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका दर्ता भएर सञ्चालनमा सबै वायुसेवा कम्पनीहरू दोहोरिएका छन् ।
यो सूचीमा अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरसम्म छन् । यसरी कालोसूचीमा पर्ने वायुसेवा कम्पनीले युरोपेली युनियनभित्रका मुलुकको आकाशमा उडान अनुमति पाउँदैनन् । सोहीकारण राष्ट्रिय ध्वजाबाहक नेवानिले समेत आफ्नो उडान विस्तार गर्न असफल रहँदै आएको छ । ईयूले हरेक ६/६ महिनामा यस्तो सूची अपडेट गर्दै आएको छ ।
सन् २०१३ मा नेपाल युरोपेली युनियनको कालोसूचीमा पर्नुको मुख्य कारण अन्तर्राष्ट्रिय नियामककारी निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) सूचीमा नेपाल पर्नु थियो । जब नेपाल आईकाओको गम्भीर सुरक्षा चासोमा पर्यो, त्यसलगत्तै युरोपेली युनियनले नेपाली वायुसेवा कम्पनीहरू आफ्नो आकाशमा उड्न नपाउने गरी कालोसूचीमा परे । जसलाई उडान सुरक्षा चासो भनिन्छ ।
नेपालले आईकाओले उठाएका चासोहरूमध्ये बहुसंख्यक चासोमा राम्रो प्रगति गर्न सफल भयो । फलस्वरूप सन् २०१७ जुलाईदेखि नेपाललाई गम्भीर सुरक्षा चासोबाट हटायो । नेपालले आईकाओको सूचीबाट उम्किएसँगै ईयूको सूचीबाट समेत नेपाल उम्कन्छ भन्ने अपेक्षा राखेको थियो । तर, त्यसो हुन सकेन । जसका कारण नेपाल विगत ११ वर्षदेखि निरन्तर ईयूको कालोसूचीमा छ ।