भारत सरकारको सहयोगमा निर्माण गरिएको काठमाडौको पद्मकन्या माध्यमिक विद्यालय भवनको उद्धघाटन
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु ३.२३६ करोड आर्थिक सहयोगमा निर्माण गरिएको काठमाडौंको डिल्लीबजारस्थित श्री पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावास भवनको उद्धघाटन गरिएको छ । सोमवार जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरेका हुन । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग काठमाडौंस्थित श्री पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावासलाई आवश्यक भान्सा कोठा, डाइनिङ्ग हल, भण्डार कक्ष, वार्डेन कक्ष, गार्ड कक्ष, अतिथि कक्ष, कार्यालय कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रतीक्षालय, ग्रीन रुम, लन्ड्री, शौचालय, स्नानघर, सोलार ब्याकअप सिस्टम लगायतको सुविधा सहितको ३९ वटा कोठा भएकोे चार तल्ले छात्रावास भवनको निर्माणमा उपयोग गरिएको थियो ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, काठमाडौंमार्फत गरिएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये काठमाडौं जिल्लाका ४१ वटा परियोजनासहित बागमती प्रदेशमा १०६ वटा परियोजना रहेका छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये काठमाडौं जिल्लालाई प्रदान गरिएको ७० वटा एम्बुलेन्स र ५३ वटा स्कुल बससहित बागमती प्रदेशलाई २३६ वटा एम्बुलेन्स र ९८ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ ।