प्रधानमन्त्रीको पहलकदमी सकारात्मक- कांग्रेस – Nepalboli

प्रधानमन्त्रीको पहलकदमी सकारात्मक- कांग्रेस

   २०८१ जेष्ठ १४, सोमबार  

नेपाली कांग्रेसले सहकारी ठगी र संसद्को गतिरोधका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीलाई सराकात्मक प्रतिक्रिया दिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रधानमन्त्री सकारात्मक रुपमा लागेको बताए । प्रधानमन्त्रीले अहिलेको डेडलकलाई आज साँझसम्म टुंग्याउनुपर्छ भनेको उनले बताए ।

‘आज साँझसम्म यो डेडलक जसरी हुन्छ, अन्त्य गर्ने गरी प्रधानमन्त्री लाग्नुभएको छ । प्रधानमन्त्रीको पहलकदमी उपयुक्त छ तर समग्र सत्तापक्षको चाहिँ सोचेजस्तो समस्या समाधान गर्नेतर्फभन्दा पनि समस्यालाई अल्झाइराख्ने खालको देखिन्छ । त्यसप्रति हामी शशंकित छौँ’, उनले भने ।

प्रधानमन्त्रीले आज साँझसम्म आफूहरूलाई छलफलमा बोलाउने परियारले बताए । त्यसअघि आफूहरू पनि आन्तरिक छलफल गर्ने बताए । छलफलका लागि १ बजे कांग्रेसको पूर्व र वर्तमान पदाधिकारीको बैठक बोलाइएको परियारले बताए ।

बालुवाटारको छलफलमा प्रधानमन्त्रीले कांग्रेस र सत्तापक्षसँग छुट्टाछुट्टै छलफल गरेको र एक पक्षको धारणालाई अर्को पक्षमा छलफल गरेको परियारले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै