सिरोहियालाई पक्राउ गरेर अन्य पत्रिका, मिडिया र पत्रकारहरूलाई सरकारले तर्साउन खोजे- शेखर कोईराला – Nepalboli

सिरोहियालाई पक्राउ गरेर अन्य पत्रिका, मिडिया र पत्रकारहरूलाई सरकारले तर्साउन खोजे- शेखर कोईराला

   २०८१ जेष्ठ १०, बिहीबार  

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर अन्य पत्रिका, मिडिया र पत्रकारहरूलाई तर्साउन खोजेको आरोप लगाएका छन । उनले प्रतिशोधको आधारमा सिरोहियालाइ पक्राउ गरेको भन्दै यो मुलुककै लागी शुभ संकेत नभएको पनि जिकिर गरे ।

नेपाल प्रेस युनियनको कार्यक्रमलाई विराटनगरमा सम्बोधन गर्दै कोइरालाले गृहमन्त्रीको दुइटा पासपोर्ट र दुइटा नागरिकता हुँदा, संसद्‌का महासचिव पदमप्रसाद पाण्डेको दुइटा नागरिकता र पासपोर्ट हुँदा केही नभएको चर्चा गर्दै ‘किन हुँदैन ?’ त्यतातिर हेर्नुपर्ने आवश्यकता रहेको बताए । उनको प्रश्न छ, ‘देशमा कानुन छ । कानुन गृहमन्त्रीलाई लाग्दैन ?’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको उनले दोहोर्‍याएका छन् । त्यसबाट उन्मुक्ति पाउन नसक्ने कांग्रेसको ठहर रहेको कोइरालाको भनाइ छ ।

‘यसमा कुनै पनि द्विविधा छैन । जसले उहाँलाई बचाउन खोज्छ, त्यो पार्टी होस् वा व्यक्ति होस् । ती सबै एक्पोज भएर जान्छन् भोलि । यो गम्भीर विषय छ’, नेपाल प्रेस युनियनले विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ।

मन्त्री लामिछानले आफूले कुनै गल्ती नगरेको बताउने गरेको भन्दै कोइरालाले उनलाई त्यसो भए पद छोड्न आग्रह गरे । भने, ‘अर्को मन्त्रालय जानुस्, नेपाली कांग्रेसले राजीनामा पनि माग्दैन । प्रहरीलाई स्वतन्त्र भएर काम गर्न दिनुस् ।’ गृहमन्त्री लामिछानेले आफ्नो ढाकछोप गरिरहेको उनको भनाइ थियो । ‘गृहमन्त्री भएकाले उहाँलाई सहकारी ठगीमा उन्मुक्ति दिने ?’, कोइरालाको प्रश्न छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै