लुम्बिनीमा भारतीय राजदूतावासद्धारा बुद्ध जयन्ती महोत्सव आयोजना – Nepalboli

लुम्बिनीमा भारतीय राजदूतावासद्धारा बुद्ध जयन्ती महोत्सव आयोजना

   २०८१ जेष्ठ ९, बुधबार  

बुद्ध जयन्तीको शुभ अवसरमा नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा वुधवार लुम्बिनीमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन । लुम्बिनी बौद्ध विश्वविद्यालयमा “बुद्ध धर्म र वैश्विक शान्ति” विषयकमा आयोजित विचार गोष्ठीसँगै कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रममा भारत र नेपालका विशिष्ट बौद्ध विद्वानहरुले सहभागीता जनाएका थिए । सहभागीहरु आधुनिक जगतमा भगवान् बुद्धका शिक्षाको सान्दर्भिकताका बारेमा आ–आफ्ना विचार, अन्तर्दृष्टि साझा गर्नुभएको थियो। वहाँहरुले भारत र नेपालबीचको अद्वितीय र समृद्ध बौद्ध सम्बन्धबारे प्रकाश पार्नुभएको थियो।

प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उक्त कार्यक्रममा प्रमुख आतिथित्यमा महोत्सव अन्र्तगत चित्रकला प्रदर्शनी र साँस्कृतिक साँझ समेत मनाइएको छ । ‘भगवान् बुद्ध र वहाँका शिक्षाहरु’ सम्बन्धी चित्रकला प्रदर्शनीको उद्घाटन प्रधानमन्त्रीले गर्नुभएको थियो जसमा काठमाडौं र लुम्बिनीका विद्यालयका विद्यार्थीहरुले तयार पारेका उत्कृष्ट चित्रहरु राखिएका थिए। यी चित्रहरुमा भगवान् बुद्धको जीवन र शिक्षाका विभिन्न पक्षहरुलाई चित्रण गरिएको थियो।

वैशाख बुद्ध पूर्णिमाको पूर्वसन्ध्यामा आयोजित साँस्कृतिक साँझमा भारत र नेपालका साझा बौद्ध सम्पदा र परम्परा झल्काउने जीवन्त प्रस्तुतिहरु समावेश थिए। हिनयान र महायान परम्पराका परम्परागत जपको बौद्ध भिक्षुहरुले पाठ गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो जसको आयोजना लुम्बिनी विकास कोषले गरेको थियो। भारतकी कविता द्विवेदी र वहाँको नृत्य टोलीद्वारा ‘श्वेत मुक्ति–द फेमिनिन ग्लोरी अफ निर्वाण’ शीर्षकमा नृत्य, प्रसिद्ध भारतीय गायिका डा सुभद्रा देसाईद्वारा भजन र धम्म गीतहरुको मार्मिक प्रस्तुति र श्री सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रख्यात नेपाली साङ्गीतिक समूह ‘सुर सुधा’ द्वारा बौद्ध गीतहरुको भावपूर्ण साङ्गीतिक संग्रहको प्रस्तुति कार्यक्रममा प्रस्तुत गरिएको थियो।

कार्यक्रमको स्वागत मन्तव्यमा भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालको साझा बौद्ध विरासत र सम्पदा एक कडीको रुपमा रहेको जसले दुवै देशका जनतालाई शताब्दीयौंदेखि जोडेको बताउनुभयो। नेपालको लुम्बिनी र भारतको बोधगया, सारनाथ र कुशीनगर पवित्र भूमिहरु हुन् जहाँबाट भगवान् बुद्धको सर्वव्यापी शिक्षा विश्वका अन्य भागहरुमा फैलिएको थियो। राजदूतले भारत र नेपालका जनताको कल्याण हेतु वर्तमान समयमा यो साझा विरासतलाई सुदृढ गर्न भारतको प्रतिबद्धता निरन्तर रहिरहने कुरामा जोड दिनुभयो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन्दर चित्रकला प्रदर्शनी र जीवन्त साँस्कृतिक कार्यक्रमका लागि भारतीय राजदूतावास र सबै कलाकारहरुको प्रशंसा गर्नुभयो। सम्माननीय प्रधानमन्त्रीले भारत र नेपालको द्विपक्षीय सम्बन्धमा संस्कृतिले विशेष स्थान ओगटेको र यस्ता कार्यक्रमले हाम्रा दुई देशबीचको मित्रता र सद्भावको बन्धनलाई थप मजबुत बनाउने बताउनुभयो। वहाँले यस्ता कार्यक्रम गर्वको स्रोत मात्र नभई ज्ञानको खजाना रहेको बताउनुभयो। वहाँले विभिन्न क्षेत्रबीचको सहकार्यले मजबुत बनाएको नेपाल र भारतबीच सदियौं पुरानो, बहुआयमिक सम्बन्ध रहेको बताउनुभयो।

कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री जोख बहादुर महरा सहित कैयौं वरिष्ठ प्रदेशीय नेताहरु लगायत लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा वरिष्ठ पदाधिकारीको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा भारत र नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुका साथै सर्वसाधारणको पनि बाक्लो उपस्थिति रहेको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै