तेब्बर बढ्यो विद्युतीय सवारी आयात
मुलुकमा विद्युतीय सवारीको आयात उल्लेख्य रूपमा बढेको देखिएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो १० महिनाको विवरण अनुसार हालसम्म आठ हजार ४९७ वटा चारपाङ्ग्रे विद्युतीय गाडी नेपाली बजारमा भित्रिएको छ । यो वृद्धि गत वर्षको तुलनामा करिब तीन गुणाले हो । विभागको तथ्याङ्क अनुसार गत वर्ष सोही अवधिमा दुई हजार ९५५ वटा चारपाङ्ग्रे भित्रिएका थिए ।
वैशाखसम्ममा ५० किलोवाटसम्मका तीन हजार ४७२, ५१ देखि १०० किलोवाटसम्मका चार हजार ८९६ वटा, १०१ देखि दुई सय किलोवाटसम्मका १०५ वटा र त्यसभन्दा ठुला क्षमताका २४ वटा काररजिपरभ्यान आयात भएको देखिएको छ । वैशाख महिनामा मात्र एक हजार चार सय वटा विद्युतीय कार भित्रिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । तीनपाङ्ग्रे विद्युतीय सवारी आयात पनि सात हजार ९७० थान तयारी अवस्थाका र दुई हजार २२६ थान फिटिङ नगरिएका तीनपाङ्ग्रे विद्युतीय सवारी भित्रिएका हुन् ।
विद्युतीय सवारीको यो आयातमार्फत चालु आवको साउनदेखि वैशाखसम्ममा २१ अर्ब आठ करोड ८० लाख ३९ हजार रुपियाँ बराबरको यस्ता साधनको आयातबाट सरकारले नौ अर्ब ३६ करोड ४४ लाख ४३ हजार रुपियाँ राजस्व प्राप्त गरेको छ । गत वर्ष यो अवधिमा आठ अर्ब ४१ करोड रुपियाँका दुई हजार ९५५ विद्युतीय कार आयात हुँदा दुई अर्ब ३० करोड ८८ लाख ५५ हजार रुपियाँ राजस्व पाएको थियो ।