किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण
गोरखा नगरपालिका – १२ का किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण हाते ट्याक्टर र चाप कटर प्रदान गरिएको छ । स्थानिय किसानलाई रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवर्द्धन गरी किसानहरुको आयस्तर वृद्धि गराउन बिहीबार गोरखा नगरपालिका – १२ ले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको हो । गोरखा नगरपालिका वडा नम्बर १२ का नौ जना किसानहरुलाई नौ वटा हाते ट्याक्टर, तीन वटा चाप कटर गरी १२ जना किसानलाई कृषि उपकरण वितरण गरिएको वडा नम्बर १२ का अध्यक्ष डिल बहादुर थापाले जानकारी दिनुभयो ।
कृषि पेशालाई आधुनिकरण तथा व्यवस्थित गर्न उत्पादन बढाउन १२ नम्बर वडाले चालु आर्थिक वर्ष २०८०/२०८१ को बजेटबाट कृषि सामग्री अनुदान कार्यक्रमअन्तर्गत किसानलाई तीन लाख रुपियाँको कृषि उपकरण सहयोग गरिएको अध्यक्ष थापाले बताउनुभयो ।
स्थानिय किसानलाई व्यवसायिक कृषि क्षेत्रमा आकर्षित गर्नका लागि कृषि उपकरण वितरण गरिएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुबेदीले बताउनुभयो । किसानलाई कृषि उपकरणको सहि सदुपयोग गर्न आग्रह समेत गर्नुभयो ।
नगरपालिकाले कृषि कार्यक्रमअन्तर्गत किसानको साझेदारीमा ६ लाख बराबरको सामान हस्तान्त्रण गरिएको हो । कृषि उपकरणले स्थानिय रुपमा उत्पादन बढाउन नगरपालिकामा कृषिमा आत्म निर्भर बनाउन योगदान पुग्ने विश्वास लिइएको छ । १२ जना किसानलाई गोरखा नगरपालिकाका उपप्रमुख मसलीमायाँ थोकर र प्रमुख प्रशासकीय अधिकृत सुबेदीले सयुक्त रुपमा हाते ट्याक्टर र चाप कटर वितरण गर्नु भएको हो ।
गोरखा नगरपालिका वडा नम्बर १२ नगरपालिका भरिको कृषि उब्जाउ हुने ठुला ठुला टारसम्म परेको खेती योग्य भूमि भएकाले सिँचाइ गर्न पनि दरौदी नदीको पानी सहज रुपमा ल्याउन समय अनुसार धान मकै आलु लगाएतका खेती योग्य ठाउँ भएको वडा अध्यक्ष डिल बहादुर थापाको भनाइ छ ।