देशभरका उद्योगहरूमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ – Nepalboli

देशभरका उद्योगहरूमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ

   २०८० चैत्र २३, शुक्रबार  

देशभरिका उद्योगहरूमा नेपाल विद्युत् प्राधिकरणले १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न सुरु गरेको छ । १ अप्रिलदेखि भारतको खुला बजारबाट रातिको समयमा विद्युत् आयात बन्द भएपछि प्राधिकरणले उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न थालेको हो । कुनै–कुनै क्षेत्रमा १५ घण्टासम्म पनि लोडसेडिङ भइरहेको गुनासा व्यापारीहरुले गर्न थालेका छन ।

भारतले मार्च अन्तिममा विद्युत् आयातसम्बन्धी सम्झौता नवीकरण गर्दा खुला बजारबाट दिनको समय मात्रै विद्युत् आयात गर्न पाउने किसिमको व्यवस्था गरेको छ । रातको समयमा नेपालले ग्यासबाट उत्पादित विद्युत् मात्रै आयात गर्न पाउँछ, जुन खुला बजारभन्दा महँगो पर्न जान्छ । ग्यासबाट उत्पादित विद्युत् प्रतियुनिट ८ देखि १० भारुसम्म पर्छ । महँगोमा विद्युत् आयात गरेर नेपालमा वितरण गर्नुभन्दा प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ गरेको हो ।

अहिले वीरगञ्ज क्षेत्रका उद्योगमा मात्रै होइन, सर्वसाधारणका घरमा पनि अनियन्त्रित लोडसेडिङ भइरहेको नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश अध्यक्ष अशोककुमार टेमानीले बताए । ‘उद्योगहरूमा त दिनको कम्तीमा १२ घण्टा लोडसेडिङ भइरहेको छ, तर कुन बेला बत्ती जान्छ भनेर प्राधिकरणले अग्रिम जानकारी गराउँदैन,’ उनले भने, ‘सामान्यतया साँझ ६ देखि बिहान ६ बजेसम्म विद्युत् गइरहेको छ ।’

तर, कुनै क्षेत्रमा मध्यरात १२ देखि दिउँसो १२ बजेसम्म, कुनैमा साँझ ६ देखि बिहान ९ बजेसम्म पनि लोडसेडिङ भइरहेको उद्योगी बताउँछन् । प्राधिकरणले लोडसेडिङ नै गर्नुपरे पनि तालिका नै निकालेर गरिदिए काम गर्न सजिलो हुने टेमानीले बताए ।

प्रमुख औद्योगिक क्षेत्र मोरङ–सुनसरी, वीरगञ्ज–सिमरा, हेटौंडा, भैरहवा–बुटवल, नेपालगञ्ज लगायतमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ भइरहेको उद्योगीहरुले दाबी गरेका छन । प्राधिकरणले उद्योगीहरुलाई जोडिएको भन्दा कम क्षमता प्रयोग गर्न अनुरोध गरे पनि त्यो प्रभावकारी नभएको जनाएका छन ।

भारतबाट महँगो दरमा ग्यासमा आधारित बिजुली आयात गरेर वितरण गर्ने कि नगर्ने भन्ने चाहिँ नेपाल सरकारले नै निर्णय गर्नुपर्ने प्राधिकरणका कर्मचारीहरु बताउँछन् । प्राधिकरणले त्यसअघि नै माघ पहिलो सातादेखि उद्योगलाई दैनिक ८ देखि १० घण्टासम्म लोडसेडिङ गरिरहेको थियो । डेडिकेटेड र ट्रंक लाइन विवादमा २३ ठूला उद्योगमा काटिएको लाइन जोडिदिएपछि तत्कालै प्राधिकरणले लोडसेडिङ गर्न सुरु गरेको थियो ।

अहिले पिक समयमा १ हजार ८ सय ३३ मेगावाट विद्युत् माग रहेको प्राधिकरणले जनाएको छ । तर, दिनको समयमा कुल विद्युत् आपूर्ति १ हजार ३ सय ४३ मेगावाट छ । भारतबाट दिनको समयमा ४ सय मेगावाट विद्युत आइरहेकोमा राति त्यो आउँदैन । त्यसो हुँदा रातको समयमा विद्युत्को चरम अभाव भइरहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै